images
images

मोटर बीमाले धानेको निर्जीवन बीमा, कृषि बीमामा किन देखिएन आर्कषण ?

मोटर बीमाले धानेको निर्जीवन बीमा, कृषि बीमामा किन देखिएन आर्कषण ?

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १४ निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै रहेको देखिएको हो ।

बुधवार, भदौ १९ २०८१
बुधवार, भदौ १९ २०८१
  • images
    images
    मोटर बीमाले धानेको निर्जीवन बीमा, कृषि बीमामा किन देखिएन आर्कषण ?
    images
    images

    काठमाडौँ / निर्जीवन बीमा व्यवसायमा सबैभन्दा ठूलो हिस्सा मोटर बीमाले ओगटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूको व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा धेरै रहेको देखिएको हो ।

    images
    images

    निर्जीवन बीमा कम्पनीहरूले कृषि तथा बाली, सम्पत्ति, सामुन्द्रिक, हवाई, इन्जिनियरिङ, लघु बीमा लगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । मोटर बीमाको तुलनामा अन्य यी व्यवसायको हिस्सा न्यून रहेको तथ्याङ्कले देखाउँछ ।

    प्राधिकरणको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो महिनामा अर्थात साउनमा निर्जीवन बीमा कम्पनीहरुले कूल २ लाख ४१ हजार ३१४ वटा बीमालेख जारी गरेर ४ अर्ब ३१ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 

    जसमा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कूल २ लाख २१ हजार ७१ वटा बीमालेख जारी गरेर ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् भने ४ लघु निर्जीवन बीमा कम्पनीहरुले कूल २० हजार २४६ वटा बीमालेख जारी गरेर ५ करोड १६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

    जसमध्ये निर्जीवन बीमा कम्पनीहरुले १ लाख १२ हजार ८६५ वटा मोटर बीमा पोलिसी जारी गरेर १ अर्ब २२ करोड ३७ लाख रुपैया बीमा शुल्क आर्जन गरेका हुन् । तथ्याङ्क अनुसार कम्पनीहरुले जारी गरेको बीमालेख मध्ये ५३.२२ प्रतिशत मोटर बीमाको रहेको देखिएको छ भने बीमा शुल्क आर्जनमा पनि २८.३८ प्रतिशत हिस्सा मोटर बीमाको नै देखिएको छ । 

    के भन्छन् बीमा व्यवसायीहरू ? 

    सवारी साधनको अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था, बढ्दो संख्या लगायतका कारण निर्जीवन बीमा क्षेत्रको बिजनेशमा यसले एकतिहाई बढी योगदान दिएको सारोकारवालाहरू बताउँछन् । 

    दुर्घटनाको जोखिम उच्च हुने भएका कारण दुईपाँग्रे तथा चारपाँग्रे सवारी साधनले अनिवार्य बीमा गर्छन् । जसको कारण कम्पनीहरूको व्यवसायमा सवारी बीमाको पोर्टफोलियो उच्च रहेको छ ।

    नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी (उपनिर्देशक) निर्मल अधिकारीले निर्जीवन बीमा भनेकै मोटर बीमा जस्तै भइसकेको बताएका छन । साथै, सरकारले पनि मोटर बिमा अनिवार्य गरेको कारण यसमा बीमितको आर्कषण बढेको उनी बताउछन् । 

    उनी भन्छन, ‘सुरूदेखि नै यसको पोर्टफोलियो बढ्दै गइरहेको छ । जुन क्षेत्रको माग बढी छ, सोही क्षेत्रमा बढी हुने हो । व्यापार भनेकै मागमा भर पर्ने कुरा हो । सबैभन्दा धेरै सवारी साधनबाट जोखिम हुने डरका कारण पनि मोटर बीमा गर्ने गरेका छन् ।’

    सडक दुर्घटना, चोरी, बाढी, भूकम्प लगायतका कारणबाट मोटरमा हुने क्षतिबाट बच्नका लागि बीमकहरुले मोटर बीमा गर्ने गरेको उनी बताउछन् । सरकारले मोटर बीमाका साथै तेस्रो पक्ष बीमा समेत अनिवार्य गरेको छ । सरकारले मोटर बीमालाई अनिवार्य गरेकै कारणले अन्य बीमाको तुलनामा मोटर बीमाको व्यवसाय धेरै हुँदै आएको देखिन्छ ।

    प्रदेशगत कस्तो छ मोटर बीमालेख व्यापारको अवस्था ? 

    बीमा प्राधिकरणको तथ्याङ्क अनुसार प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी मोटर बीमालेख जारी गर्ने र बीमा शुल्क आर्जन गर्नेमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ । साउनमा बागमती प्रदेशबाट ५७ हजार ६१७ वटा मोटर बीमालेख जारी भएको छ भने ७९ करोड २३ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

    यस्तै, लुम्बिनी प्रदेशबाट १६ हजार २२५ वटा मोटर बीमालेख जारी हुँदा १२ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । कोशी प्रदेशबाट ११ हजार ६०८ वटा बीमालेख जारी हुँदा ८ करोड ८४ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

    यता, मधेश प्रदेशभर ९ हजार ५८६ वटा मोटर बीमालेख जारी हुँदा ७ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ भने गण्डकी प्रदेशमा ११ हजार ७१० वटा मोटर बीमालेख जारी भएर ९ करोड ५५ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

    त्यसैगरी, कर्णाली प्रदेशमा १ हजार ७६१ वटा मोटर बीमालेख जारी भएर १ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ भने सुदुरपश्चिम प्रदेशमा ४ हजार ३५८ वटा बीमालेख जारी भएर ३ करोड १८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

    कृषि बीमामा किन देखिएन आर्कषण ?

    सरकारले अनुदान दिएको कृषि तथा बाली बीमाको व्यवसाय भने अत्यन्तै न्युन रहेको देखिन्छ । सरकारले अनुदानको व्यवस्था समेत गरेको कृषि तथा बाली बीमामा कृषकहरूको आकर्षण बढ्न सकिरेहेको छैन । 

    एक महिनामा कृषि तथा बाली बीमाबाट कम्पनीहरूले २० करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन कुल हिस्साको ४.६० प्रतिशत मात्रै हो । तथ्याङ्क अनुसार कृषि तथा बाली बीमा फस्टाउन नसकेको प्रस्ट हुन्छ ।

    कृषि बिमा र सवारी बिमालाई तुलना गर्न नमिल्ने अधिकारीले बताए । ‘कृषि बिमा र सवारी बिमालाई तुलना गर्न मिल्दैन । यो फरक प्रकृतिको व्यवसाय हो’, उनले भने, ‘मोटर बिमा अनिवार्य छ तर कृषि बिमा अनिवार्य छैन ।’ 

    सरकारले कृषि बिमामा किसानलाई आकर्षित गर्न अनुदानको व्यवस्थासमेत गरेको छ । किसानहरुलाई बिमा हुन्छ भन्ने चेतना नभएर कृषि बीमामा आर्कषण कम भएको उनी बताउछन् । 

    सरकारले अनुदानको व्यवस्था समेत गरेको कृषि तथा बाली बीमामा कृषकहरूको आकर्षण बढ्न नसकेको भन्दै उनले भने ‘बीमा कम्पनीहरू ग्रामीण क्षेत्रमा नपुग्नु र कृषि तथा बाली बीमालाई प्राथमिकता नदिनुको कारण कृषकहरूको आकर्षण नबढेको हो ।’

    साथै, भुक्तानी प्रक्रिया झन्झटिलो हुँदा किसानहरूले निरुत्साहित भएका हुन् कि भन्ने विषयमा भने अनुसन्धान गर्नुपर्ने उनले बताए ।

    प्रदेशगत कस्तो छ कृषि बीमालेख व्यापारको अवस्था ? 

    बीमा प्राधिकरणको तथ्याङ्क अनुसार प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी कृषि तथा बाली बीमालेख जारी गर्ने र बीमा शुल्क आर्जन गर्नेमा बागमती प्रदेश सबैभन्दा अगाडि रहेको छ । 

    साउनमा बागमती प्रदेशबाट ७ हजार ५७९ वटा कृषि तथा बाली बीमालेख जारी भएको छ भने ९ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

    यस्तै, लुम्बिनी प्रदेशबाट ३ हजार ४७ वटा बीमालेख जारी हुँदा २ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । कोशी प्रदेशबाट २ हजार ४८४ वटा बीमालेख जारी हुँदा २ करोड ३६ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

    यता, मधेश प्रदेशभर १ हजार ४६२ वटा बीमालेख जारी हुँदा १ करोड ९० लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ भने गण्डकी प्रदेशमा २ हजार ४९२ वटा बीमालेख जारी भएर २ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ ।

    त्यसैगरी, कर्णाली प्रदेशमा ६ सय ६० वटा बीमालेख जारी भएर ३९ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ भने सुदुरपश्चिम प्रदेशमा ७ सय ६५ वटा बीमालेख जारी भएर ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।

    अन्य कुन प्रदेशमा कुन व्यवसायको अवस्था कस्तो ?

    3.PNG

    एक महिनामा आर्जन गरे ४ अर्ब माथि कुल बीमा शुल्क

    चालु आर्थिक बर्षको पहिलो महिनामा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब माथि कुल बीमाशुल्क आर्जन गरेका छन् । तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको साउन महिनामा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क संलन गरेका हुन् । यस अवधीमा कम्पनीहरुले २ लाख २१ हजार ७१ वटा बीमा पोलिसी बिक्री गरेका छन् । 

    जसमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरको छ । कम्पनीले यस अवधिमा ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । जुन कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको १४ प्रतिशत हिस्सा ओगटेको छ । 

    यस्तै, सबैभन्दा कम प्रभु इन्स्योरेन्सले आर्जन गरेको छ । यस कम्पनीले एक महिनाको अवधीमा १० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको हो । कम्पनीले निर्जीवन बीमा क्षेत्रको कुल बीमाशुल्कको २.४७ प्रतिशत हिस्सा ओगटेको छ ।

    अन्य कुन कम्पनीको कति ?

    2.PNG

    निर्जीवन बीमा कम्पनीको बागमती प्रदेशमा मात्रै ३ अर्ब बढीको व्यापार, 

    एक महिनाको अवधीमा निर्जीवन बीमा कम्पनीहरूको सबैभन्दा ठूलो बजार बागमती प्रदेशमा देखिएको छ । यो प्रदेशमा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ९८ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो साउनको कुल व्यापारको ६९.२१ प्रतिशत हिस्सा हो ।

    अन्य कुन प्रदेशमा कति ? 

    यसैगरी एक महिनाको अवधीमा निर्जीवन बीमा कम्पनीहरुको दोस्रो बजारका रुपमा लुम्बिनी प्रदेश रहेको छ । लुम्बिनीबाट निर्जीवन बीमा कम्पनीहरुले ३५ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। जुन साउनको कुल व्यापारको ८.१४ प्रतिशत हिस्सा हो । कोशी प्रदेशबाट निर्जीवन बीमकहरुले ३३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो कुल व्यापारको ७.८२ प्रतिशत हिस्सा हो।

    साउनमा प्रदेशगत हिसाबले निर्जीवन बीमा कम्पनीहरूले मधेशबाट ३० करोड ३० लाख रुपैयाँ, गण्डकीबाट २३ करोड ३८ लाख रुपैयाँ, सुदूरपश्चिमबाट ७ करोड ३७ लाख रुपैयाँ र कर्णालीबाट २ करोड ८९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । कुल व्यापारमा मधेशमा ७.०३ प्रतिशत, गण्डकीमा ५.४२ प्रतिशत, सुदूरपश्चिममा १.७१ प्रतिशत र कर्णालीमा ०.६७ प्रतिशत हिस्सा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार