राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले दैनिक एक जनाले २० ग्राम नुन खान थालेको बताएका छन्।
सोमबार नेपाल प्रेस सोसाइटीमा पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “धेरै नुनले हाम्रो ज्यान गयो, शरीर रोग उत्पादनको घर बन्ने भयो, थाइराइडले समात्यो भनेर हिजोआज मैले यस्तै यस्तै कार्यक्रममा सुन्ने गरेको छु। एक व्यक्तिलाई दैनिक ५ ग्राम मात्र नुन भए पुग्नेमा २० ग्रामसम्म खान थालेकोले रोग बढ्न थालेको हो।”
महर्जनले नुनको विषयमा जनचेतनाको अभावकै कारण आम मानिसले आवश्यकताभन्दा बढी नुन खाइरहेको समेत जानकारी गराए। महर्जनले भने, यो सबै जनचेतनाको अभावकै कारण भएको हो त्यसैले साल्ट ट्रेडिङ्गले नुनको विषयमा जनचेतनामूलक कार्यक्रमहरू बढी गर्नुपर्ने आवश्यकता आफूले महसुस गरेको बताए।
साल्ट ट्रेडिङ्गको नुनमा शुद्धता हुने दाबी गर्दै उनले भने, “आयोडिन भनेको सूक्ष्म पोषण तत्व हो, यसर्थ यो शरीरका लागि अत्यावश्यक तत्व हो, यसको अभावले मानसिक विकारको समस्या समेत देखिन सक्छ।”
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका प्रमुख रामप्रसाद कुस्मा, जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रतिनिधि यादव मिश्र, साल्ट ट्रेडिङ्ग कर्पोरेशनका प्रतिनिधि तुलेश्वर शाह, भक्तपुर उद्योग वाणिज्य संघका प्रतिनिधि गणेश हरि प्रजापति र नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले आयोडिन नुन र यसका फाइदाका विषयमा जानकारी गराएका थिए।
कार्यक्रमको सञ्चालन राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापाले गरेका थिए।