काठमाडौँ / सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत पाँचौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरण विक्रम शाही लगातार शीर्षस्थानमा कायमै रहन सफल भएका छन्।
आज २-अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३-अन्डर २०३ सहित शीर्षस्थानमा कायमै रहेका हुन्। उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे।
४-अन्डर ६८ सहित समग्रमा १२-अन्डर २०४ को स्कोरमा निरज दोस्रो स्थानमा कायमै छन्। अन्तिम १८ होलको खेल बाकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए।
दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य दुवैले आज ६-अन्डर ६६ को सानदार प्रदर्शन गरे।
समग्रमा ६-अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्। एमेच्योरतर्फ उनीहरूले शीर्षस्थान बाँडे। समग्रमा ५-अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४-अन्डर ६८ को स्कोर कार्ड तयार पारे। उनी पाँचौ स्थानमा रहे। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले ३-अन्डर ६९ को स्कोर निकाले।
समग्रमा ४-अन्डर २१२ सहित छैटौँ स्थानमा उक्लिए। आज १-अन्डर ७१ को स्कोरमा समग्रमा ३-अन्डर २१३ सहित दिनेश प्रजापति सातौं स्थानमा छन्।
सञ्जय लामाले ३-अन्डर ६९ को स्कोर दर्ज गरे। समग्रमा भने २--अन्डर २१४ को स्कोरमा आठौाँ स्थानमा रहेका छन्। समग्रमा इभन-पार २१६ स्कोर जोडेका रामे मगर र टंक बहादुर कार्कीले नवौँ स्थान बाँडे। रामेले २-अन्डर ७० र टंकले २-ओभर ७४ को स्कोर निकाले।
लगातार तेस्रो दिन पनि शीर्षस्थानमा रहने क्रममा तोरणले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। उनले छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे।
ब्याक नाइनमा ११औँ र १२औँ होलमा एक-एक सट बचाए पनि १०औँ र १५औँ होलमा बोगीको सामना गरे। योसँगै ब्याक नाइन इभन–पार ३६ मा सकाए।
निरजले फ्रन्ट नाइन १-ओभर ३७ मा पूरा गर्ने क्रममा पाँचौँ र सातौँ होलमा बोगी प्रहार गरे। आठौँ होलमा एक सट बचाए। तर उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५-अन्डर ३१ मा सकाए।
उनले १२औँ, १५औं र १६औं होलमा बर्डी प्रहार गर्दा ४-पारको १८औं होलमा इगलको सफलता प्राप्त गरे।
एमेच्योर राहुलले तेस्रो र सातौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा बोगी खेपे। फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। ब्याक नाइनमा राहुले सानदार प्रदर्शन गरे।
१०औँ देखि १२औँ होलमा लगातार तीन बर्डी प्रहार गरे। यसपछि १५औँ र १६औँ होलमा पनि बर्डी प्रहार गर्न सफल रहे। उनले ब्याक नाइन ५-अन्डर ३१ मा सकाए। यो नतिजामस उनी संयुक्तरूपमा तेस्रो स्थानमा उक्लिए।
सद्भावले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौँ, छैटौँ र सातौँ होलमा बर्डी प्रहार गरे। यसपछि १३औँ होलमा बोगी खेपे पनि ११औँ, १२औँ र १८औँ होलको बर्डीले ब्याक नाइन २-अन्डर ३४ मा सकाए।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।