काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को कार्तिक महिनासम्म आयात र निर्यात सामान्य रूपले बृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पहिलो चौमासिकमा (साउन–कार्तिक)सम्म आयात ०.१७ प्रतिशत र निर्यात ४.१६ प्रतिशतले बृद्धि भएको हो ।
कार्तिकसम्म ५ खर्ब १३ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात ५२ अर्ब ६७ करोड बराबरको भएको विभागले जनाएको छ । गत आर्थिक बर्षको सोही अवधिमा ५ खर्ब १२ अर्ब ५० करोड बराबरको वस्तु आयात भएको थियो । यस्तै, गत आवको पहिलो चौमासिकमा ५० अर्ब ५६ करोड ५३ लाख बराबर वस्तु निर्यात भएको थियो ।
व्यापार घाटा सामान्य घट्यो
विभागको तथ्याङ्क अनुसार यस बर्ष व्यापार घाटासमेत सामान्य घटेको छ । कार्तिकसम्म व्यापार घाटा ४ खर्ब ६० अर्ब ७१ करोड रुपैयाँ बराबर छ । जुन गत आवको तुलनामा ०.२६ प्रतिशतले कम हो ।
अघिल्लो आवमा व्यापार घाटा ६ खर्ब ६१ अर्ब ९३ करोड बराबर रहेको भन्सार विभागले जनाएको थियो। चालु आवको कार्तिकसम्म कुल वैदेशिक व्यापार ५ खर्ब ६६ अर्ब ५ करोड बराबर भएको छ ।
गत आवमा कुल वैदेशिक व्यापारको आकार ५ खर्ब ६३ अर्ब ६ करोड रुपैयाँ थियो । गत बर्षको तुलनामा नेपालको वैदेशिक व्यापारसमेत ०.५३ प्रतिशतले बढेको हो ।
कार्तिकसम्मको कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९०.७० प्रतिशत र निर्यात हिस्सा ९.३० प्रतिशत छ भने गत आवको तुलनामा निर्यात हिस्सा ३.६२ प्रतिशतले बढेको देखिन्छ ।
भारत, चीन र युक्रेनबाट हुने आयात बढी
नेपालले पहिलो चौमासिकमा सबैभन्दा बढी व्यापारिक कारोबार दुई छिमेकी मुलुकसँग गरेको छ भने युक्रेन तेस्रो स्थानमा छ । विभागका अनुसार यस अवधिमा भारतबाट ३ खर्ब १६ अर्ब ८८ करोड बराबर बस्त आयात भएको देखिन्छ भने ३५ अर्ब ७६ करोड बराबर सामान निर्यात भएको छ ।
त्यस्तै, चीनबाट नेपालमा १ खर्ब ३ अर्ब बराबर सामान आयात हुँदा ६८ करोड रुपैयाँ बराबर सामान निर्यात भएको छ । भारत र चीनपछि नेपालले सबैभन्दा बढी वस्तु आयात गर्ने मुलुकमा युक्रेन रहेको छ । युक्रेनबाट ९ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको विभागले जनाएको छ ।
इन्धन खरिदमा बाहिरियो पौनै खर्बभन्दा बढी
नेपालले चालु आवको कार्तिकसम्म सबैभन्दा बढी रकम इन्धन खरिदमा खर्च गरेको छ । यस अवधिमा इन्धन आयातमा नेपालबाट ८८ अर्ब २६ करोड रुपैयाँभन बढी रकम बाहिरिएको विभागले जनाएको छ ।
चार महिनामा नेपालले कुल बस्तु निर्यात गरेर ५२ अर्ब ६७ करोड आम्दानी गर्दा इन्धन खरिदमा मात्रै पौने खर्बभन्दा बढी रकम खर्च गरेको हो । यसको अर्थ नेपालको कुल निर्यातले इन्धन खरिद गर्नसमेत सक्ने अवस्था छैन ।
त्यस्तै, आइरन र स्टिलको आयातमा ४२ अर्ब ५८ करोड र विद्युतीय उपकरण र पाट्र्स आयातमा ३६ अर्ब ९५ करोड बाहिरिएको विभागले जनाएको छ । नेपालले कार्तिकसम्म सवारीसाधन आयातमा ३२ अर्ब ७३ करोड रुपैयाँ खर्च गरेको छ भने १३ अर्ब ३० करोडबढीको तरकारीजन्य वस्तु भित्रिएको छ ।
४ महिनामा नेपालले बेच्यो ५ अर्बको घ्यू
भन्सार विभागका अनुसार चालु आवको ४ महिनामा सबैभन्दा बढी तेल र घ्यू बचेको छ । विभागले यस अवधिमा ५ अर्ब ४६ करोड बराबर घिउ तथा तेलजन्य वस्तु निर्यात गरेको विभागले जनाएको छ । त्यस्तै, ४ अर्ब ६४ करोड बराबरको कफी र चियाजन्य वस्तु निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।