काठमाडौँ / चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ३.४ प्रतिशतले आर्थिक वृद्धिदर प्राप्त भएको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको तुलनामा चालु आवमा गार्हस्थ्य उत्पादन ३.४ प्रतिशतले बढ्ने अनुमान गरिएको हो ।
कार्यालयका अनुसार त्रैमासिक अवधिमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा वृद्धि, विद्युत् उत्पादन तथा वितरणमा वृद्धि, पर्यटन आगमनमा वृद्धिसँगै होटल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि प्रमुख कारक रहेको जनाएको छ ।
यसका अतिरिक्त यातायात क्षेत्रमा भएको वृद्धि, स्वास्थ्य सेवामा भएको वृद्धि, सार्वजनिक प्रशासनका क्षेत्रमा भएको वृद्धिले समग्र अर्थतन्त्र सकारात्मक वृद्धितर्फ उन्मुख रहेको छ ।
खासगरी यस अवधिमा गएको बाढी तथा पहिरोको नकारात्मक प्रभाव र निर्माण क्षेत्रको वृद्धि धनात्मक हुन नसकेका कारणले अर्थतन्त्रको वृद्धि सामान्य रहन गएको अनुमान रहेको छ । गत आव अन्तिम चौमासको तुलनामा भने अर्थतन्त्र ०.२ प्रतिशतमात्र विस्तार हुने अनुमान कार्यालयले गरेको छ ।
गत आव अन्तिम चौमासमा आर्थिक वृद्धिदर ३.२ प्रतिशत थियो । यस आव पहिलो त्रैमासमा ३.४ प्रतिशतले वृद्धि हुने अनुमान कार्यालयको छ । चालु आव सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदर भेट्ने लक्ष्य लिएको छ ।
गत बर्षको चौथो त्रैमासिकको तुलनामा चालु आ.व.को प्रथम त्रैमासिकमा कुल १८ ओटा औद्योगिक क्षेत्रमध्ये ६ ओटामा भएको ऋणात्मक वृद्धिको प्रभाव तथा अन्य क्षेत्रको सामान्य वृद्धिको कारणले समग्र कुल गार्हस्थ्य उत्पादन झिनो अङ्कले मात्र वृद्धि हुने अनुमान गरिएको जनाएको छ । यद्यपि, विद्युत् र सूचना तथा सञ्चार क्षेत्रमा भने उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ ।
कुन क्षेत्रको बृद्धिदर कति ?
चालु आव २०८१/८२ को प्रथम त्रैमासिकमा गत बर्षको सोही अवधिको तुलनामा कुल १८ ओटा औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मूल्य अभिवृद्धि वृद्धिदर धनात्मक छ । जसमध्ये विद्युत तथा ग्याँससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २१.४ प्रतिशत छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र रहेको छ।
यी औद्योगिक क्षेत्रलाई पछ्याउँदै आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ। त्यसैगरी, निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बिमा क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान गरिएको छ।
प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ। अर्कोतर्फ, चालु आव २०८१/८२ को प्रथम त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र संकुचनमा रहेको प्रारम्भिक अनुमान छ।
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगटेको कृषि, वन तथा मत्स्य क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ। धानलगायतका वर्षे वालीको उत्पादनमा वृद्धि हुनुका साथै तरकारी तथा नगदे बालीहरू र पशुपंक्षीजन्य उत्पादनमा भएको वृद्धिले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा सकारात्मक प्रभाव परेको देखिन्छ।
समयमा मलको उपलव्धता, उन्नत बिउको प्रयोग, तथा यथेष्ट मनसुनी वर्षा भएका कारण कृषिजन्य उत्पादनमा वृद्धि भएको हो । यद्यपि, वर्षायामको बाढी र पहिरोले पुर्याएको क्षतीका कारणले कृषि क्षेत्रको कुल मुल्य अभिवृद्धिमा उल्लेख्य वृद्धि हुन सकेन ।
अर्कोतर्फ, अर्थतन्त्रको दोस्रो ठुलो क्षेत्र थोक तथा खुद्रा व्यापार क्षेत्रको चालु आव २०८१/८२ को प्रथम त्रैमासिकमा ०.५ प्रतिशतले मात्र वृद्धि हुने प्रारम्भिक अनुमान छ।
कृषि तथा व्यापारजन्य वस्तुहरूको स्वदेशी उत्पादनमा भएको सामान्य वृद्धि तथा प्रमुख व्यापारजन्य वस्तुको आयातमा भएको सामान्य वृद्धिका कारणले गर्दा व्यापार क्षेत्रको वृद्धि धनात्मक दिशा उन्मुख भएको हो ।
त्यसैगरी, यो त्रैमासिकमा औद्योगिक वस्तु उत्पादन क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर २.३ प्रतिशतले धनात्मक रहन गएको छ। गत आवको प्रथम त्रैमासिकको तुलनामा चालु आवको प्रथम त्रैमासिकमा औद्योगिक वस्तुको उत्पादनमा क्रमिक सुधार आएका कारण यो क्षेत्रको वृद्धि सुधारोन्मुख रहन गएको प्रारम्भिक अनुमान छ।
यस त्रैमासिमा शिक्षा ०.४ प्रतिशत, स्वास्थ्य ४.१ प्रतिशत, घरजग्गा कारोबार ३.१ प्रतिशतलगायतका सेवा क्षेत्रका अन्य क्रियाकलापको वृद्धिदर सामान्य रहेको छ।
जसअनुसार नेपालको आर्थिक वृद्धिदर विगतमा कहिले बढ्ने, कहिले घट्ने गरेको भए तापनि आर्थिक वर्ष २०७९/८० देखि सुधारात्मक रूपमा निश्चित दिशा तय गर्न खोजेको देखिन्छ।