काठमाडौँ / सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौँ अदालतमा उपस्थित हुने भएका छन् ।
लामिछानेविरुद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज आफैँ अदालतमा उपस्थित हुने भएका हुन् । कास्की जिल्ला अदालतले बिहीबार रविलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
बिहीबार अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् ।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको थियो । अदालतको आदेश अनुसार रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी लिएको छ भने छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । यस्तैगरी लिला पछाईंसँग ३७ लाख रुपैयाँ, रामबहादुर खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।