काठमाडौँ / चालु आर्थिक बर्ष २०८१÷८२ को पाँच महिनामा मूल्यबृद्धि ६.०५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकले मंसिर मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरी अघिल्लो बर्षको सोही महिनामा ४.९४ प्रतिशत रहेको मूल्यबृद्धि यस बर्ष भने बढेको जनाएको हो ।
यस अवधिमा आयात ३ प्रतिशतले र निर्यात १६.५ प्रतिशतले बढेको छ भने रेमिट्यान्स् नेपाली रुपैयाँमा ४.४ प्रतिशतले र अमेरिकी डलरमा २.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
पाँच महिनामा मुलुकको शोधनान्तर स्थिति रु.२२५ अर्ब ३४ करोडले बचतमा हुँदा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७६ करोड कायम भएको छ ।
सरकारको खर्च रु.५५६ अर्ब १२ करोड र राजस्व परिचालन रु.३९९ अर्ब ६० करोड रहेको छ । त्यस्तै, विस्तृत मुद्राप्रदाय ३.३ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.२ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १०.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ ।