काठमाडौँ / अब बैंक तथा वित्तीय संस्थामा खाता खोल्न राष्ट्रिय परिचयपत्र नम्बर आवश्यक पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै परिचयपत्र नम्बरका आधारमा बैंक खाता खोल्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
केन्द्रीय बैंकले यसअघि नै एकीकृत निर्देशनमार्फत बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्देश गरिसकेको थियो ।
राष्ट्रिय परिचयपत्रको सहज पहुँच सुनिश्चित गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रत्येक जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ ।
यस्तै, काठमाडौँ उपत्यकामा समेत जिल्ला प्रशासन कार्यालयका अतिरिक्त अस्थायी शिविरमार्फत परिचयपत्र प्रदान गरिँदै आएको सूचनामा उल्लेख छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बर तथा आवेदनको स्थिति बुझ्न सकिने व्यवस्था गरिएको छ ।
विभागको पोर्टलमार्फत राष्ट्रिय परिचयपत्र नम्बरको जानकारी लिएर बैंक खाता खोली ग्राहकलाई सहजीकरण गर्न सबै बैंक तथा वित्तीय संस्थालाई आवश्यक निर्देशन दिइसकिएको राष्ट्र बैंकले जनाएको छ ।
सरकारले यसअघि नै माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेगरी कार्यतालिका बनाएको थियो । तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था कार्यान्वयन भएको थिएन । अहिले पनि उक्त मुद्दा विचाराधीन नै छ ।
यसैबिच राष्ट्र बैंकले पुनः अर्को सूचना जरी गर्दै परिचयपत्रबाट बैंक खाता खोल्न सकिने जनाएको हो ।
माघदेखि राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराएका खातावालाको ग्राहकको पहिचान तथा पुष्टि (केवाईसी) समेत राष्ट्रिय परिचयपत्र मार्फत नै पुष्टि गर्न भनिएको छ।
“बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ गतेदेखि राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचय पत्र वा सोको नम्बर यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउनु पर्ने छ,” राष्ट्र बैंकको निर्देशनमा भनिएको छ।
निर्देशनले सामाजिक सुरक्षा लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थमा सम्बन्धित निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्ने व्यवस्था गरेको हो।
यस्तै बैंकहरूले अब ग्राहकको खाता खोल्दा उक्त व्यक्ति उच्च पदस्थ व्यक्तिका परिवार वा नजिकको सम्बन्ध भए नभएको समेत एकिन गर्नुपर्ने छ।