काठमाडौँ / मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा आयोजना गरेको १० औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आज (विहीबार)देखि काठमाडौँमा सुरु भएको छ ।
बिहीबार काठमाडौँको भृकुटीमण्डपमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालबाट उक्त प्रदर्शनीको उद्घाटन गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री दाहालले प्रर्दशनीले नेपाल क्रमशः औद्योगीकरणतिर प्रवेश गरिसकेको कुरा पुष्टि गरेको बताए । नेपालमा नै निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरूको सङ्ख्या लगभग ६० प्रतिशत रहेको भन्दै त्यसले आफू प्रभावित भएको बताए ।
उनले भने, “नेपाल क्रमश ओद्योगिकरणतिर प्रवेश गरिसकेको कुरा पुष्टि पनि गर्छ । नेपालमा नै निर्माण सामग्री उत्पादन गर्ने कम्पनीहरूको सङ्ख्या लगभग ६० प्रतिशत छ । यहाँ नेपाली उत्पादनहरू धेरै छन् । प्रदर्शनीले मलाई अत्यन्तै प्रभावित पारेको छ । र म सम्बन्धित मन्त्रालयको मन्त्री पनि भएको हुनाले प्रदर्शनीपछि मान्छेले धेरै कुराको जानकारी पाउनेछन् ।”
आजदेखि सुरु भएको प्रदर्शनी ११ गतेसम्म चल्ने छ । प्रदर्शनीमा विभिन्न देशका ३ सय भन्दा बढी कम्पनीहरूका १५० बढी स्टल रहेका छन् ।