images
images

एक बर्षमा भित्रियो ६१ अर्ब ९० करोड लगानी प्रतिवद्धता, ७९ प्रतिशतले बढ्यो साना व्यवसायमा लगानी

एक बर्षमा भित्रियो ६१ अर्ब ९० करोड लगानी प्रतिवद्धता, ७९ प्रतिशतले बढ्यो साना व्यवसायमा लगानी

गत आर्थिक बर्षमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आउदा लगानीकर्ताले नेपालबाट २ अर्ब ७९ करोड रुपैयाँ रोयल्टी विदेश गएको छ

आइतवार, साउन ६ २०८१
आइतवार, साउन ६ २०८१
  • images
    images
    एक बर्षमा भित्रियो ६१ अर्ब ९० करोड लगानी प्रतिवद्धता, ७९ प्रतिशतले बढ्यो साना व्यवसायमा लगानी
    images
    images

    काठमाडौँ / सरकारले नीतिगत रूपमा सहजीकरण गरेसँगै प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको छ । एक वर्षको अवधिमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिवद्धता प्राप्त भएको हो । 

    उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा आर्थिक बर्ष २०८०/८१ मा प्रत्यक्ष वैदेशिक लगानी दोब्बरले वृद्धि भएको छ । 

    अघिल्लो आव ०७९/८० मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ३८ अर्ब ४० करोड रुपैयाँ बराबर भित्रिएको थियो । यस वर्ष गत आवको तुलनामा २३ अर्ब ५० करोड रुपैयाँ बढी भित्रिएको हो ।

    साना व्यवसायमा बढ्यो आकर्षण

    विभागको अनुसार ठूला र मझौला उद्योगमा अपेक्षित लगानी बढ्न नसके पनि सानो लगानीका नयाँ उद्योगमा भने व्यवसायीहरूको चासो बढेको देखिएको छ ।  गत आवमा साना–साना लागानीका उद्योगहरूको दर्ता ७९ प्रतिशतले बढेको छ ।

    एक आर्थिक बर्ष अर्थात साउनदेखि असार मसान्तसम्म आएका कुल प्रस्तावमध्ये साना उद्योगमा ३ सय ८६ वटा छ । मझौला उद्योगमा १५ मात्र प्रस्ताव आएका छन् ।

    यस्तै, ठूला उद्योगमा ६ मात्र प्रस्ताव आएको विभागले जनाएको छ । यता, असारमा मात्र आएको प्रतिबद्धता केलाउँदा साना उद्योगमा ४५, मझौलामा १ र ठूला उद्योगमा २ रहेको देखिएको छ ।

    तर, गत आर्थिक बर्षमा साना दुई सय, ठूला ८० र मझौला ८५ वटा उद्योग दर्ता गर्ने लक्ष्य सरकारको थियो । यस्तै, आर्थिक वर्ष २०७९/८० मा १८६ साना, ७० मझौला र  ६६ वटा ठूला उद्योग दर्ता भएका थिए ।

    १५ करोड रुपैयाँसम्मको पुँजी भएको उद्योगलाई साना उद्योगको रूपमा गणना गरिन्छ । १५ करोडभन्दा धेरै र ५० करोडभन्दा सानो पुँजी भएका उद्योगलाई  मझौला र ५० करोड रुपैयाभन्दा धेरै पुँजी भएका उद्योगलाई ठूला उद्योगको रूपमा वर्गीकरण गरिएको छ ।

    पर्यटन र सेवा क्षेत्रमा आकर्षण बढ्दै

    गत आर्थिक बर्षको तथ्याङक हेर्दापर्यटन र सेवा क्षेत्रमा एफडीआईको आकर्षण सबैभन्दा बढी रहेको पाइएको छ । एक आवमा कुल प्रस्तावको १ सय ९७ एफडीआई प्रस्ताव पर्यटन क्षेत्रमा स्वीकृत भएको देखिएको छ ।

    यो कुल स्वीकृत सङ्ख्याको ४८ प्रतिशत हो । कोरोना माहामारीपछि सुस्ताएको पर्यटन क्षेत्रले गति लिएसँगै यस क्षेत्रमा चहलपहल पनि बढेको छ ।

    पछिल्लो समय नेपालमा आन्तरिक र बाह्य पर्यटकहरूसँगै विदेशी लगानी प्रतिबद्धता बढ्नुलाई सकारात्मक रूपमा लिइएको छ । यसले नेपालको अर्थतन्त्रलाई चलायमात्र बनाउनसमेत सहयोग गर्ने पर्यटन व्यवसायीहरू बताउँछन् ।  

    यस्तै, सेवा क्षेत्रमा १ सय ३३ वटा लगानी स्वीकृत भएका छन् । जुन कुल प्रस्तावको ३३ प्रतिशत हो । यता, उत्पादन उद्योगका ४६ प्रस्ताव स्वीकृत भएका छन् । जसको हिस्सा ११ प्रतिशत हुन आउँछ । सूचना प्रविधितर्फ ११ प्रस्ताव स्वीकृत भएका छन् । यो भनेको ३ प्रतिशत हो ।

    यता, कृषि क्षेत्रमा ८ (२ प्रतिशत), पूर्वाधारमा ६ (१ प्रतिशत), उर्जामा ३ (१ प्रतिशत) र खानीमा ३ (१ प्रतिशत) प्रस्ताव स्वीमृत भएको विभागको तथ्याङ्क छ । 

    कुल एफडीआई कति पुग्यो ? 

    विभागले गत आवमा ६२ अर्बले एफडीइआई स्वीकृत गरेसँगै नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी ५ खर्ब नाघेको छ ।

    कुल ६ हजार २ सय ६७ एफडीआई स्वीकृत भएकोमा ५ खर्ब ११ अर्ब ८९ करोड ३४ लाख ७७ हजार रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।

    २२ हजारले रोजगारी पाउने 

    विभागको तथ्याङ्क अनुसार प्रत्यक्ष वैदेशिक लगानी भित्रिएका प्रस्तावमा लगानी आउन थालेसँगै यी उद्योग तथा प्रतिष्ठानले २२ हजार रोजगारी सिर्जना हुने देखिएको छ । 

    २२ हजार ९४ जनालाई रोजगारी दिने प्रतिबद्धता प्रस्तावमा उल्लेख छ । असार महिनामा मात्र स्वीकृत प्रस्तावले १ हजार ९ सय ४८ जनालाई रोजगारी पाउने अनुमान विभागको छ ।

    बिजनेस भिसा सिफारिस सङ्ख्यासमेत वृद्धि

    गत आवमा बिजनेस भिसा (लगानीकर्ता, प्रतिनिधि र डिपेन्डेन्टका लागि) सिफारिस पनि बढेको छ । 

    उद्योग विभागको अनुसार एक वर्षमा लगानीकर्ता, प्रतिनिधि र डिपेन्डेन्ट गरी तीन हजार ६ सय ४५ जनालाई बिजनेस भिसा सिफारिस गरिएको उद्योग विभागले जनाएको छ । जसमध्ये २२ सय २९ विदेशी लगानीकर्ता चार सय नौ प्रतिनिधि र एक हजार सात डिपेन्डेन्ट रहेका छन् । 

    अघिल्लो आव ०७९/८० मा दुई हजार आठ सय ६४ विदेशीलाई बिजनेस भिसा सिफारिस गरिएको थियो । जसमा १८ सय नौ लगानीकर्ता, दुई सय ८५ प्रतिनिधि र सात सय ७० डिपेन्डेन्ट रहेका थिए ।

    नेपालबाट बाहिरिने रोयल्टी र लाभांश कति ?

    गत आर्थिक बर्षमा ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता आउदा लगानीकर्ताले नेपालबाट २ अर्ब ७९ करोड रुपैयाँ रोयल्टी विदेश गएको छ । अघिल्लो आवमा २ अर्ब ३३ करोड रोयल्टी विदेशिएको थियो । 

    यस्तै, एक आवमा नेपालबाट विदेशी लगानीकर्ताले १० अर्ब ७ करोड रुपैयाँ लाभांश लगेको देखिएको छ । अघिल्लो आवमा लगानीकर्ताले १३ अर्ब ८४ करोड रुपैयाँ लाभांश लगेका थिए । 

    विभागको तथ्याङ्क अनुसार अमेरिकी डलरमा एक वर्षमा १ करोड ९ लाख लाभांश लगेको देखिन्छ । यस्तै, भारतीय रुपैयाँमा ७६ करोड २७ लाख लाभांश गएको देखिन्छ भने युरोमा २३ हजार ८ सय लाभांश विदेशिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार