भारतीय जनता पार्टीका प्रभावाली नेता तथा पूर्व विदेश विभाग प्रमुख डा. विजय जोलीले नेपालमा बनेको कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई आफूहरुले स्वागत गर्ने भन्दै यो गठबन्धन नै नेपालका लागि समयको माग भएको टिप्पणी गरेका छन् ।
उनले भने, ‘आजको सन्दर्भमा नेपालको भलाईको लागि, नेपालको विकासको लागि र नेपालको बढोत्तरीको लागि वर्तमान गठबन्धन (कांग्रेस र एमाले) को गठन्धन चलिरहेको छ, यो वैश्विक शान्ति, आर्थिक समृद्धि र यहाँका युवाहरुको सशक्तिकरणको लागि अहिलेको समयमा बेष्ट–कम्बिनेशन हो । हामी त्यसको समर्थन गर्छौं ।’
२१ तारिख (बिहीबार) एक विशेष अन्तरक्रियामा बोल्दै उनले कांग्रेस–एमालेको वर्तमान गठबन्धन नेपालको लोककल्याणको लागि नै वरदान हुने बताए । उनले भने,‘आजको सन्दर्भमा नेपालमा कांग्रेस र एमालेको गठबन्धन छ, प्रधानमन्त्री केपी शर्मा ओलीजी र शेरबहादुर देउवाको नेतृत्वमा चलिरहेको सरकारलाई हामी स्वागत गर्छौं । यो गठबन्धन आजको समयको माग हो । कांग्रेस र एमालेको गठबन्धन नेपालको लोककल्याणको लागि हो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालको आन्तरिक मामिलामा भारतले कहिल्यैपनि हस्तक्षेप नगरेको दाबी गरे । उनले भने,‘भारत नेपालको आन्तरिक सम्बन्धमा हस्तक्षेप गर्छ भन्ने आरोप छ ।
यो तथ्य ठीक होईन । भारतमा कोही आएर भन्यो भने हामीले सुन्नुपर्छ । तर, निर्णय नेपालको तन्त्रको हो, नेपालको सरकार र नेपाली जनताले निर्णय लिने हो । नेपाल शसक्त र बलियो रह्यो भने भारतले पनि आफूलाई मजबुद सम्झिनेछ । म ९४ देश पुगिसकेको छु ।’
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र बीआरआईबारे के धारणा छ भनेर पत्रकार धमलाले राखेको जिज्ञासामा नेता जोलीले नेपालका प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने कुरा नेपालको निर्णय हुने भन्दै त्यसलाई आफूले सम्मान गर्ने बताए । उनले भने,‘हामीले धेरै वर्षदेखि पढेका छौं, सुनेका छौं ।
नेपालमा जहिले राज्यसत्ता परिवर्तन हुन्छ, नेपालका प्रधानमन्त्रीले सर्वप्रथम भारतको भ्रमण गर्छन् । यो नेपाल सरकारको र नेपालको तन्त्रको यसप्रति आफ्नो निर्णय र स्वतन्त्रताको रूपमा लिनुपर्छ । नेपालका प्रधानमन्त्री चीन, भारत र अमेरिका वा फ्रान्स र जर्मनी जाए, हामी उनीहरुको निर्णय स्वागत गर्छौं ।
भारतले कहिल्यैपनि आफ्नो छिमेकी देशको लोन दिएर ऋणमा बाँध्ने कोशिस गरेको छैन् । जो मैले सुनिरहेको छु, बुझिरहेको छु । मलाई आशा छ–नेपालका प्रधानमन्त्री आफ्नो गठबन्धनको मित्रको साथ मिलेर बीआरआईबारे जुनप्रकारको रणनीतिक सम्झौता गर्नुहुन्छ, मलाई आशा छ त्यो नेपालको हितमा हुनेछ । आज उहाँ चीन जाँदै हुनुहुन्छ, भोलि भारत आउँदा हामी स्वागत गर्छौं ।’
उनले हरेक देशले आफ्नो स्वार्थको लागि कुटनीतिक रुपमा हात मिलाउने गरेको सुनाए । उनले भने,‘तर, यो आशा गर्छों कि सानो सानो मुद्दामा राजनीतिक प्रेरित राजनीतिक इस्युमा हुँदैन, हरेक देश आफ्नो देशको स्वार्थको लागि कुटनीतिक विश्वस्तरमा हात मिलाउँछन्, मित्रताको आयाम खोल्छन् ।
हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङले भुटानदेखि लद्दाकसम्मको सिमा विवाद सम्वाद र कुटनीतिक संलग्नताको माध्यम र समझदारीले सुल्झाउने पहल लिनुभएको छ, यो वैश्विक शान्तिको लागि पनि नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानको परिप्रेक्ष्यमा पनि लागु हुन्छ ।’
उनले भारत र नेपालबीचको राजनीतकि सम्बन्ध, कुटनीतिक सम्बन्ध, सुरक्षा, शिक्षादेखि सबैखाले सम्बन्धमा अधिकतम वार्तालाप भयो भने त्यसले सम्बन्धमा उत्तिकै स्पष्टता प्रदान गर्ने विश्वास दिलाए ।
नेता जोलीले नेपाल र भारतबीच रहेका सिमा विवादपनि सरकारी, राजनीतिक र कुटनीतिक तहको सम्वादबाट हल गरिनुपर्नेमा जोड दिए । सिमा विवाद हल गर्नको लागि भारत सधैं तयार रहेको उनको भनाई छ । तर, नेपालमा भारतविरोधी भावना सिर्जना गर्नको लागि केही विषय उठाईने गरेकोमा उनले गुनासो पोखे । भारत सरकारले नेपालको जहिल्यैपनि हित चाहेको सुनाए ।
उनले भने,‘यस वर्षमा भारत सरकारले नेपाललाई आर्थिक सहयोग गर्नको लागि आफ्नो वार्षिक बजेटमा ७०० करोडको सहायता (धनराशि) छुट्याएको छ ।
प्रधानमन्त्री मोदीले पछिल्लो आफ्नो १० वर्षको कार्यकालमा ५ पटक नेपालको भ्रमण गर्नुभयो । नेपालको समग्र विकासको लागि भारतले काम गरेको छ । हालै नेपालको जाजरकोटमा आएको भूकम्पको लागि पनि मोदीले एक हजार करोड नेपाली रुपैयाँको अनुदान दिनुभयो । ती विषयको यहाँ चर्चा हुँदैन् ।’
उनले नेपाल–भारतबीचको सिमा समस्या वार्ताको माध्यमबाट नै हल हुनुपर्ने दोहोर्याए । तर, आफूले विश्वको ९४ वटा मुलुकको भ्रमण गरेको स्मरण गराउँदै ती कुनैपनि मुलुकले आफ्नो पैसामा विवादित क्षेत्रको नक्शा समावेश गरेको नदेखेको भन्दै नेपालले पछिल्लो समय आफ्नो एक सयको नोटमा चुच्चे नक्शा समावेश गरेकोप्रति संकेत गरेर गुनासो पोखे ।
उनले भने–‘मैले दुनियाँको ९४ देशको भ्रमण गरेको छु, कुनैपनि देशको पैसामा विवादित क्षेत्रको नक्शा समावेश गर्ने सरकारी पहल भएको देखेको छेन् । भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बढाउनको लागि जुन मुद्दामा हाम्रो गतिरोध छ, हाम्रो त चीनसँगपनि बोर्डरको विषयमा गतिरोध छ । बंगलादेशसँग पनि थियो, वातचित र सम्वादको माध्यमबाट गतिरोध कम भएको छ ।’ उनले नेपालसँगको सिमा विवाद समाधानको लागि ‘अभोईड कन्टोभर्सियल इस्युज एण्ड रिजल्भ थु्र डायलग’ को नीति अख्तियार गर्नुपर्ने धारणा राखे ।
उनले नेपालमाथि भारतले नाकाबन्दी गरेको आरोप लगाएपनि त्यसमा सत्यता नभएको जिकिर गरे । उनले भने,‘हामीमाथि नेपालमा नाकाबन्दी लगाएको आरोप थियो । जुन सरासर राजनीतिबाट प्रेरिरत थियो ।’
नेपालका राजनीतिक दलको आन्दोलन र सिमामा अवरोधको कारण त्यस्तो अवस्था सिर्जना भएको उनको भनाई थियो । उनले भने,‘नेपाल सधैं विकसित होस भन्ने भारतले चाहना राखेको छ । हामीले त सपनामा पनि सोचेका थिएनौं नेपालमा खाद्य अवरोध होस भनेर, त्यतिवेला सिमामा भएको आन्दोलनको कारण रोकिएको थियो ।
भारतले सधैं ठूलो हृदय देखाउनुपर्छ, यो समयको आवश्यकत्ता हो ।’ तर, नेपालका सडकमा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन हुने विषय आफूहरुको लागि सह्य नहुने उनको भनाई छ ।
उनले भने,‘मेरो प्रधानमन्त्रीको पुत्ला काठमाडौंको सडकमा जलाईयो, अन्याय भयो भने हाम्रो पनि हृदयभित्र दर्दको महशुस हुनु र हामीले त्यस्तो महशुस गर्नु स्वभाविक हो । आजको आवश्यकत्ता नै सम्वाद हो । भारत यसप्रति कटिबद्ध छ । नेपाल सरकार पनि प्रतिबद्धत छ । सचेत छ । यो विषयमा न्याय गर्छ भन्ने मेरो विश्वास छ ।’
नेपाल र नेपाली मोटाप्रति आफ्नो उच्च सम्मान र लगाव रहेको पनि जोलीले सुनाए । उनले भने,‘मलाई नेपाल आउने धेरै वर्षदेखि सौभाग्य मिलेको छ । नेपालमा लोकतन्त्रको बहालीको लागि र पिपुल टु पिपुल मित्रतालाई बढावा दिनको लागि नेपाल आउने सौभाग्य मिलेको छ । म जहिले नेपाल आउँछु, हवाईजहाजबाट उत्रिनेबित्तिकै नेपाली माटोमा हात लगाउँछु । त्यो माटो मेरो निधारमा लगाउँछु ।
नेपालको पु०य भूमिलाई नमस्कार गर्छु । विजय जोली सायद पछिल्लो जन्ममा नेपालमा पैदा भएको थियो । त्यही भएर यत्रो प्रेम र लगाव नेपालको साथ छ ।’
उनले आफू भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख भैसकेको नाताले पनि विगत लामो समयदेखि नेपाल आवातजावत गर्ने गरेको स्मरण गराए ।
उनले भने,‘म भाजपाको वैश्विक विभाग प्रमुख हुनुको नातालेपनि यो भन्छु, नेपाल र भारतबीच रोटी बेटीको सम्बन्ध छ । वर्तमान कार्यकालमा यदि कसैले दुई देशबीचको सम्बन्धलाई बढावा दिने काम गरेको छ भने त्यो हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको छ ।
सन् २०१५ मा जब नेपालमा भूकम्प आएको थियो, पहिलो सहयोग पनि मोदीले नै घोषणा गर्नुभएको थियो । नेपालको लागि उद्धार, राहत र पूननिर्माणको लागि पहल गर्नुभयो । मोदीले पहिले पहल गर्नुभयो । त्यहीअनुसार भारतबाट यहाँ राहत सामाग्री आए । औषधी, खाद्य सामाग्री, टेण्ट ल्याउनुभयो ।
त्यतिवेला एक हजार ५७७ हवाई उडान भरेर भारतबाट नेपालमा जहाज उत्रिएका थिए । मलाई याद छ कोभिड–१९ को समयमा पनि भारतले ठूलो सहायता गरेको छ । सन् २०२० मा ३३ हजार पिसिआर किट्स प्रदान सहायता भयो, सन् २०२१ मा कोभिशिल्ड खोप दश लाख नेपाललाई प्रदान गरिएको थियो । सन् २०२२ भित्र लुम्बिनीमा बनिरहको बौद्ध केन्द्रको लागि एक अर्ब रुपैयाँ सहयोग गर्नुभयो । लुम्बिनीपनि जानुभयो । बास्तवमा दुई देशबीच आपसी सम्बन्ध मजबुद बनाउनको लागि लागि भारतले पहल लिएको छ ।’
उनले ५० लाख नेपाली जनता अहिले पनि भारतमा रोजगारीमा रहेको तथ्यांक पेश गरे । उनीहरुको योगदानको कारण भारत अहिले सशक्त र बलियो बनेको जोलीको भनाई छ ।
पछिल्लो समय नेपाल र भारतबीच आर्थिक र व्यापारिक सम्बन्धपनि बलियो र प्रगाढ भैरहेको जोलीको दाबी छ । उनले भने,‘भारत र नेपालबीच सैनिक क्षेत्रमा पनि राम्रो साझेदारी छ । भारतका आर्मी चिफ पनि अहिले नेपाल भ्रमणमा हुनुहुून्छ । राष्ट्रपतिद्धारा सर्वोत्तम उपाधिबाट सम्मान हुँदैछ ।
दुवै देशले सूर्यकिरण नामको संयुक्त सैन्य अभ्यास गरिहेका छन् ।’ भारतले नेपालका विद्यार्थीहरुको लागि उच्च शिक्षामा छात्रावृत्तिपनि प्रदान गर्दै आएको उनले स्मरण गराए । उनले भारत र नेपालको सम्बन्ध सकारात्मक आधारशिलामा रहेको दाबी गरे । उनले भने,‘मलाई आशा छ–जनता जनताबीचको मित्रता नै दुई देशबीचको सम्बन्धको आधारशिला हो ।’