कतार एयरवेजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान रोकेको छ । कतार एयरवेजले गत कार्तिक २७ गतेदेखि भैरहवामा वाइडवडी विमान एयरबस ३३० मार्फत दोहा-भैरहवा-काठमाडौँ-दोहा रुटमा दैनिक व्यावसायिक उडान गर्दै आएको थियो ।
आइतबारदेखि नयाँ उडानका लागि अनुमति नमागेको र नोभेम्बर ३० सम्मको मात्रै अनुमति मागेको विमानस्थलले जनाएको छ । उक्त विमान कम्पनीले आगामी मङ्सिर १५ गतेसम्म गौतमबुद्ध विमानस्थलमा उडानको अनुमति पाएको थियो ।
यो समयावधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान-अवतरण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन् ।