काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने भएको छ ।
उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहीबार बुढीगण्डकी हाइड्रोपावर प्रा.लि.को तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरे ।
कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
प्रवद्र्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछन् । बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपुँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापा सहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् ।
यो समूहले यसअघि सोहि क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाटक्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ साथै कम्पनिको प्राथमिक शेयर निष्काशन (आइपिओ) तत्काल नै जारि हुने प्रक्रियामा समेत रहेको छ ।
हाईड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस बुढिगण्डकी हाईड्रोपावर आगामी १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ ।
आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धि सम्झौता (पिपिए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनिले जनाएको छ ।
आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पव्लिक लिमिटेड गरि प्राथमिक सेयर (आइपिओ)मा गई छिट्टै सर्वसाधरणको लागि सेयर जारी गर्ने तयारी समेत गरेको छ ।
आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न र यसै बर्ष शुरू गर्ने गरि थप २२ मेगावाट क्षमताको जल्दिगाढ हाईड्रोपावर बनाउने कम्पनीले जनाएको छ ।