काठमाडौँ / नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरू ट्राभल्स लिमिटेड र नेपालको खाद्य प्रशोधन तथा कृषि आधारित उद्योगमा सशक्त रूपमा स्थापित क्रेमिल इन्डस्ट्रिजले व्यवसायिक सहकार्य गर्ने भएका छन् ।
एक कार्यक्रमकाबिच क्रेमिल इन्डस्ट्रिजको प्रबन्धक निर्देशक विभूषण शर्मा तथा गुरू ट्राभल्सका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सो सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रमा उल्लेख भए बमोजिम क्रेमिल इन्डस्ट्रिजका कर्मचारी तथा ग्राहकहरूलाई गुरू ट्राभल्सले विभिन्न ट्राभल प्याकेजहरूमा १० लाख रुपैयाँ सम्मको स्पेशल डिस्काउण्टका साथै अन्य विभिन्न आकर्षक सुविधाहरू उपलब्ध गराउनेछ ।
यस्तै गुरु ट्राभल्सका कर्मचारी एवम् ग्राहकहरूले आइसक्रिम र टर्किस ट्रिक खरिदमा ८ सय रुपैयाँ बराबरको स्पेशल डिस्काउन्टका साथै अन्य विभिन्न आकर्षक अफरहरू प्राप्त गर्ने जनाइएको छ ।
सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढङ्गबाट गर्ने गराउने पनि सहमति भएको छ । कार्यक्रममा क्रेमिल इन्डस्ट्रिजको प्रबन्धक निर्देशक विभूषण शर्माले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गरे ।
गुरू ट्राभल्स लिमिटेडका साथमा भएको व्यावसायिक सहकार्यबाट गुणस्तरीय सेवा प्रदान गर्न थप योगदान पुग्ने विश्वाससमेत उनले व्यक्त गरे।