काठमाडौँ / कम्पनीमाथिको नेतृत्व विवाद र सम्पति बाँडफाडले शताब्दि पुरानो ज्योति ग्रप आईतबारबाट औपचारिक रूपमा अलग भएको छ । भाइ रूप ज्योतिसँगको विवादपछि पद्म ज्योतिले अलग्गै समूह सुरु गरेका हुन् । उनले आफ्नै नाममा आइतबार पद्म ज्योति समूह घोषणा गरेका छन् ।
समूहको लोगो पनि सार्वननिक गरिएको छ । पद्म ज्योति अध्यक्ष रहेको समूहमा मीरा ज्योति संस्थापक सदस्य, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति निर्देशक छन् । यसअघि ज्योति समूहका प्रमुख सदस्यहरूमा पद्म ज्योति र रूप ज्योति रहेका थिए ।
समूहका अध्यक्ष पद्म ज्योतिले ज्योति परिवारको नयाँ पुस्ताको नेतृत्वमा सञ्चालन हुने पद्म ज्योति ग्रुप रोजगारी सिर्जना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैव प्रतिबद्ध रहने बताएका छन् । उनले भने, “ज्योति परिवारका नयाँ पुस्ताको नेतृत्वमा यो पद्म ज्योति ग्रुप सकारात्मक परिवर्तन आसिल गर्दै स्थानीय उद्यमशीलतालाई बढवा दिन रोजगारी सिर्जना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैव प्रतिबद्ध रहने छ,” उनले भने, “यो परिवर्तन केवल नामको मात्रै नभई विकास, उतकृष्टता र समुदाय सशक्तीकरणमा हाम्रो प्रतिबद्धता छ”, उनले थपे ।
अध्यक्ष ज्योतिले पारिवारिक कलह बढेका कारण अलग समूह बनाउनका लागि ५ वर्ष अगाडि नै विधान तयार गरेको पनि खुलाएका छन् । उनले भने, “हाम्रो पद्म ज्योति परिवारमा हामीले पाँच वर्ष अगाडि नै पारिवारिक विधान बनाएका थियौँ । जसले हामीलाई उचित मार्गदर्शन दिन महत्त्वपूर्ण भुमिका खेल्छ ।”
समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ । यो समूहको नाममा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटरसाइकल छन् ।
शताब्दि पुरानो बिरासत बोकेको ज्योति ग्रुप पारिवारिक किचलोका कारण बदनाम हुँदै आएको थियो । मणिहर्ष ज्योतिले बनाएको विरासतमा उनका छोरा र नातिहरूबिचको किचलोले कलहले दाग लगाएको थियो । प्रहरी प्रशासन, प्रशासन र सरकारको गुहार माग्दै आइरहेका यी अर्बपति परिवारले अब आफूहरू औपचारिक रूपमै छुट्टिएको घोषणा गरेका हुन् ।
मणिहर्ष ज्योतिले सन् १९४० मा स्थापनामा गरेको घरना ‘ज्योति ग्रुप’बाट आफ्ना कम्पनीहरू सञ्चालन गर्दै आएका थिए। तर, लामो समयदेखि दुई दाजु भाइ (पद्म र रूप) बीच विवाद बढ्दै गएको थियो।
आफ्नै परिवारभित्रको झगडाका कारण ज्योति ग्रुपमा काम गर्ने कर्मचारी र सो ग्रुपका विभिन्न कम्पनीबाट सेवा लिने सेवाग्राहीसमेत अन्योलमा परिरहेका थिए। ज्योति ग्रुपको स्थापना औपचारिक रूपमा सन् १९४० मा भएको मानिए पनि सन् १०२० मा स्वर्गीय भाजुरत्न कंसाकारले स्यामुकापुमा आधारित छ ।
स्यामुकापुलाई सेतो टोपी भनिन्छ । यो ल्हासामा जमेका नेपाली साहु भाजुरत्नले लगाउँथे र त्यसैबाट उनको व्यापारिक फर्मको नाम स्यामुकापु रहन गएको भनाइ छ । तत्कालीन समयमा नेपाल र तिब्बतबीच व्यापार गर्न सन् १९२० मा भाजुरत्नले स्यामुकापु कम्पनीको स्थापना गरेका थिए ।
उनका छोरा स्वर्गीय मणिहर्ष ज्योतिले सन् १९४० मा उक्त व्यापार कम्पनीलाई ज्योति ग्रुपका रूपमा विस्तार गरेका थिए ।
मणिहर्ष ज्योतिले स्थापना गरेको ज्योति ग्रुप अन्तर्गत सन् १९६१ मा नेपालकै पहिलो फलाम र स्टिल उद्योग हिमाल आइरन तथा स्टिल उद्योग, सन् १९६७ मा नेपालकै पहिलो सिमेन्ट उद्योग हिमाल सिमेन्ट, पहिलो अक्सिजन उत्पादक कम्पनी हिमाल अक्सिजनलगायत कम्पनीको स्थापना गरेको थियो ।
सन् १९६७ मा नेपालमा होन्डा मोटरसाइकलको आयात समेत थालेको ज्योति ग्रुपले सन् १९८२ मा वायर उद्योग, सन् १९८९ मा स्पिनिङ मिल, सन् १९९३ मा बुटवल पावर कम्पनी, सन् १९९६ मा सगरमाथा इन्स्योरेन्सलगायत गरी सन् २०२१ मा मिडिया कम्पनीसम्म व्यापार विस्तार गरेको छ ।
हाल ज्योति ग्रुपको व्यवसाय व्यापार, अटोमोटिभ, उत्पादन, स्वास्थ्य, फाइनान्स, हाइड्रो, सेवा, मिडिया, एफएमसीजी, फिटनेसदेखि हस्पिटालिटीसम्म छ । स्वर्गीय मणिहर्ष ज्योतिले सुरु गरेको ज्योति ग्रुपको विरासत दुई छोरा जेठा पद्म ज्योति र कान्छा रूप ज्योतिसम्म राम्रै चल्यो ।
पद्म ज्योतिका दुई छोरा सौरभ ज्योति र सुह्रिद ज्योति एवं रूप ज्योतिकी छोरी सुरुची ज्योतिसम्म चौथो पुस्तामा आइपुग्दा भने ज्योति समूह विभाजित भएको हो ।
अहिले जेठा पद्म ज्योति परिवारले आफु अन्तर्गतका उद्योगलाई पद्म ज्योति ग्रुपका नामले चिनाउने गरी रूपान्तरण गरेको हो । औपचारिक रूपमै यो परिवार अलग भएसँगै अब यो समस्या समाधानतर्फ अघि बढेको छ। नयाँ ग्रुपको घोषणासँगै अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्षको विरासतलाई कायम राख्नको लागि नयाँ अध्याय सुरु गरिएको बताएका छन्।