काठमाडौँ / गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपिओमा आजदेखि आवेदन दिन सकिने घएको छ । कम्पनीले आज आइबारदेखि जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ सर्वसाधरणमा जारी गर्न लागेको हो ।
कुल कित्ता आइपिओमध्ये कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन तथा बाँडफाँट गरिसकेको छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म आइपिओ निष्कासन गरी पुस ८ गते बाँडफाँट गरिएको हो । पहिलो चरणको आइपिओ बाँडफाँटपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँटपछि पनि ३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता भने सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ ।
बाँकी १८ लाख ४५ हजार कित्ता आइपिओ भने सार्वजनिक निष्कासनमा ल्याएको हो । यो कम्पनीको आइपिओमा छिटो अवधि पुस २४ गते र सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि माघ ६ गतेसम्म निष्कासनमा रहनेछ ।
यस कम्पनीको आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको आइओ निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको आइपिओमा बिक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ । आइपिओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको सङ्केत गर्ने केयर एनपी डबल बी माईनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।