images
images

पुलमुनि चिसो रात र भोको पेट बाँचिरहेको मुसहर बस्ती - “बाँचेका छैनौँ, मृत्यु पर्खेर बसेका छौँ !”

पुलमुनि चिसो रात र भोको पेट बाँचिरहेको मुसहर बस्ती - “बाँचेका छैनौँ, मृत्यु पर्खेर बसेका छौँ !”

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • पुलमुनि चिसो रात र भोको पेट बाँचिरहेको मुसहर बस्ती - “बाँचेका छैनौँ, मृत्यु पर्खेर बसेका छौँ !”
    images
    images

    सिरहा / शुभनारायण सदा र सुमित्रा सदाको बसेरा ‘ओडार युगको घर’ जस्तै छ । बैशाखको टन्टलापुर घामले पिठ्यु डढाउँछ, बर्खेझरीमा घरभित्रै निथ्रुक्क रुझ्नु, मैनावत्ती खोलाको भेलले बगाउने त्रासमा रातभरी जाग्राम बस्नु र शीतलहरमा कठ्याङ्गिनु उनको जीवनभरको भोगाइ हो । त्यसकारण मैनावत्ती नदीको पुलमुनि विगत एक दशकदेखि आश्रय लिएर बसिरहेका छन् । 

    पुष महिना तराईको कठ्याङ्ग्रिने शीतलहर छ । सदा दम्पत्तीले खर बटुलेर, पराल मागेर, वनमाराको स्याउला काटेर पुलको पिलर मुनि आश्रय स्थल बनाएका छन् । पुराना जडाउरी मागेर आङ्ग ढाकेका छन् । न ओढ्ने छ, न ओछ्याउने । घरमा अन्नको गेडो पनि छैन् । शीतलहर चलेकाले कतै मजदुरी पनि पाइदैन । चिसो रातमा भोको पेट । पुल मुनिको बास छ । 

    कसरी बाँचेको हुनुहुन्छ ? भन्ने प्रश्नमा सुमित्रा भन्छिन्, “आगोको साहारा छ । भोक लागे पनि आगो ताप्छौँ जाडो भए पनि आगो ताप्छौँ ।” शुभनारायण भन्छन्, “बाँचेका छैनौँ, मृत्यु पर्खेर बसेका छौँ । मरेपछि यहाँबाट पल्टाइ दिन्छन् । नदीमै छौँ । चार चपरी माटो हालेर पुरिदिन्छन् । सकियो मुसहरको जीवन ।”

    musaharko ghar.JPG

    “नेपाल राज्यमा हामीले बाचुञ्जेल लमतन्न भएर सुत्न एउटा खट राख्ने जमिन पनि पाएनौँ । ठूला जातिका धनीमानीहरूले हामीलाई बस्तीबाट उठिबास लगाएर खेदे,” शुभनारायणले दुखेसो पोखे । 

    मानव गोलबजार नगरपालिका-११ बलकवा बजार पुग्नुअघि मैनावत्ती नदीको पुल पार गर्नु पर्छ । यो पुल मुनि मैनावत्तीको वगरमा झण्डै ४० घर मुसहर परिवार बस्दछन् । 

    पूरै बस्तीमा अहिले अनिकाल छ । प्रायः सबै घरमा चुल्हो बाल्न हम्मेहम्मे छ । ओढ्ने ओछ्याउनेको कमी छ । काठपात र कसमल समेतको अभावले आगो बाल्न पनि मुस्किल छ । तिरझैँ शरीर घोच्ने पश्चिमी सिरेटोले अधिकांश केटाकेटी बिरामी परेका छन् । भोकभोकै रात बित्छ ।

    नेपाली कांग्रेसका नेता रामवृक्ष साह भन्छन्, “शीतहलरका कारणले रोजगारी पनि पाइदैन र काम गर्नसक्ने मौसम पनि छैन। मुसहर समुदायको विजोग भएको छ,” साह भन्छन्, “तत्कालै मुसहर बस्तीमा खाद्यन्न । ओढ्ने, ओछ्याउने, न्यानो कपडा र औषधी उपचारको खाँचो छ । राहत नदिने हो भने मुसहर बालबालिकाहरू चिसोले मर्न सक्छन् । पूरै मुसहर बस्ती संकटमा छ ।”

    mushar basti.JPG

    गोलबजार नगरपालिकाले अन्न र कपडा त परै जाओस् जाडोमा दाउरा समेत दलित मुसहर बस्तीमा पु-याउन सकेको छैन । बजार क्षेत्रमा धनीमानी माझ दाउरा वितरण गरियो तर जहाँ गरिब, दलित मुसहर छन् त्यहाँ नगरपालिकाको आँखा परेन,” शुभनारायण सदाले आक्रोस पोख्दै भने, “पाँच पटक लीला मालिक र श्याम मालिक दाजुभाइलाई (सांसद लीलानाथ श्रेष्ठ र मेयर श्याम कुमार श्रेष्ठ) भोट हाल्यौ तर हाम्रो अवस्था यस्तै छ । पुल मुनि छौँ ।”

    पुलमाथीबाट आउजाउ गर्नेहरूलाई पुल मुनिको मुसहर बस्ती कठाङ्ग्रिने शीतलहरमा भोको पेट सुतेको थाहा पाउँदैनन। तर नगरपालिकालाई पनि दलित मुसहर समुदायको अवस्थाबारे बोध र चेत छैन–मुसहर समुदायका अगुवा अरूण सदाले रोष प्रकट गरे ।

    अगुवा अरूण सदा भन्छन्, “यो पुलको आडैमा भवरी मेला (धार्मिक जात्रा) लाग्दछ । आउँदो माघ १ देखि ७ गतेसम्म यहाँ ठुलो मेला लाग्छ । मेलाका लागि पसल थाप्न जग्गा बाँडफाँट हुँदैछ । नगरपालिकाले जात्राका लागि लाखौँ रुपैयाँ सहयोग दिएको छ तर यो मुसहर बस्तीमा नगरपालिकाको नजर पुगेको छैन। यसरी समाजवाद ल्याइदैछ नेपालमा ।” 

    अर्जुन थपलिया / नेपाल न्यूज बैंक

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार