काठमाडौँ / सुनको मूल्य आकाशिएको छ । सोमबार प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेसँगै सुनको भाउ तोलामा १ लाख ६९ हजार ६ सय रुपैयाँ पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्यसूची अनुसार आइतबार भने तोलामा १ लाख ६८ हजार २ सय रुपैयाँ कायम गरिएको थियो । गत कार्तिकमा नेपाली बजारमा सुनको मूल्य सबैभन्दा बढी १ लाख ७१ हजार तोला पुगेको थियो ।
मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले सुन र चाँदीको भन्सार दर घटाएर १० प्रतिशत कायम गरेपछि सुनको मूल्यमा उच्च गिरावट आएको थियो ।
सरकारको निर्णयअनुसार राजपत्रमा मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय कार्यान्वयन भएसँगै मंसिर १० गते सुनको मूल्य घटेर प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको थियो । त्यसयता गत पुस ५ गते सुनको भाउ सबैभन्दा कम १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने उतारचढाव हुँदै सुनको भाउ आकाशिने क्रम जारी छ ।
सुनको मूल्य बढ्न थालेसँगै भन्सार दर घट्नुअघिको रेकर्ड मूल्य तोडिने अनुमान रहेको व्यवसायीहरू बताउँछन् ।अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुन महँगिएको हो ।