images
images

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

सोमवार, फागुन ५ २०८१
सोमवार, फागुन ५ २०८१
  • images
    images
    भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
    images
    images

    भोजपुर / रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुद्राक्षबाट रु १५ देखि २० करोडको हाराहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी  सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । 

    बजारमा मुखद्वार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । एक्काइस मुखे मुखद्वार एउटा दाना रु २० लाखदेखि ६० लाखसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । मुखद्वार बाहेकका दानाको भने मूल्य कम रहेको उनले बताए  ।

    “मुखद्वार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ” सचिव कटुवालले भने, “मुखद्वार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एक्काइस मुखेदाना रु २० देखी ६० लाखसम्ममा बिक्री हुन्छ। जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हाराहारीमा रकम भित्रिन्छ ।”

    आठदेखि २९ मुखसम्म भएको दानालाई मुखदार भनिन्छ । बजारमा सबै भन्दा बढी २१ मुखे दानाको माग रहेको छ । सचिव कटुवालका अनुसार आठ मुखे, बाह्र मुखे मुखद्वार दाना आकारको आधारमा एक हजार पाँच सयदेखि पाँच हजारसम्म बिक्री हुने गरेको छ ।

    त्यस्तै १३ मुखे रु पाँच हजारदेखि १५ हजारसम्म, १४ र १५ मुखे दाना आकारको आधारमा रु दश  हजारदेखि ५० हजारसम्म, १६ मुखे ५० हजार एक लाखसम्म, १७ मुखे रु ७० हजारदेखि दुई लाखसम्म, १८ मुखे रु ढेडलाखदेखि चारलाखसम्म र २१ मुखेलाई २० लाख ६० लाखसम्म पर्दछ । 

    विगतमा बिक्री हुने पाँच र छ मुखे दानाको भने बजारमा माग नरहेको उनले जानकारी दिए । दाना राम्रो बनाउने बहनामा किसानले औषधिको प्रयोग गर्ने गरेकाले रुख मर्ने समस्या देखिएको उनको भनाइ छ ।  

    विगतमा प्राकृतिक रूपमा (औषधि प्रयोग नगरी) उत्पादन भएका रुद्राक्षका बोटमा कमै मात्र भए पनि गुणस्तरीय मुखदार दाना फल्ने भएकाले राम्रो मूल्यमा बिक्री हुने गरेको थियो । औषधिको प्रयोगले उत्पादनमा वृद्धि भए पनि मूल्यमा भने कमी आएको उनको भनाइ छ । 

    उत्पादन भएको रुद्राक्षको बजारीकरणमा समस्या रहेको षडानन्द नगरपालिका दिङ्लाका स्थानीय रुद्राक्ष व्यवसायी सुजन राईले बताए । रुद्राक्षलाई वन पैदावारको रूपमा राखिएकोले बिक्री वितरणमा समस्या रहेको छ । 

    रुद्राक्षलाई  राज्यले नगदेबालीको रूपमा राखिदिए थप सहजता हुने उनले बताए। दिङ्ला क्षेत्रमा दुई हजार बढी किसानले व्यवसायी रूपमा  रुद्राक्षको खेती गरेको राईले बताए ।

    “यहाँका अधिकांश किसानको मुख्य आम्दानीको स्रोत नै रुद्राक्ष हो” उनले भने, “हाम्रो दिङ्ला क्षेत्रमा मात्र दुई हजार बढी किसानले व्यावसायिक रूपमा यसको खेती गरिरहेका छन् । रुद्राक्षलाई वन पैदावारको रूपमा राखिँदा बजारीकरणमा समस्या छ ।”

    षडानन्द नगरपालिकाको नेपालेडाँडा, कुदाकाउले, देउराली, मूलपानी केउरेनीपानी, साल्पासिलिछो गाउँपालिकालगायत जिल्लाका विभिन्न ठाउँमा रुद्राक्षको खेती हुने गर्दछ । रुद्राक्षको दाना चोरी हुने, बोट काटिदिने समस्या बढ्ने भएकाले किसानले यसको सुरक्षासमेत गर्दै आएका छन् ।

    भोजपुरबाट यो वर्षको माघ महिनासम्म करिब ७० हजार केजी रुद्राक्ष निर्यात भएको डिभिजन वन कार्यालय भोजपुरका सहायक वन अधिकृत विजय यादवले जानकारी दिए ।

    जिल्लामा रुद्राक्ष अत्यधिक उत्पादन हुने भए पनि यसको मुख्य बजार सङ्खुवासभाको खाँदबारी रहेको छ । खाँदबारीबाट तराईका जिल्ला, काठमाडौँ हुँदै चीन र भारतमासमेत निर्यात हुने रुद्राक्ष व्यवसायीको भनाइ छ ।  यस्तै युरोप र अमेरिकालगायतका मुलुकमासमेत रुद्राक्ष निर्यात हुने गरेको छ । 

    भोजपुरमा रुद्राक्षको इतिहास हेर्दा  विसं १९३२ भन्दा पहिले भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले दिङ्लामा रोपेको भन्ने भनाइ छ । रुद्राक्ष समुद्री सतहदेखि एक हजार चार सय मिटरसम्मको उचाइमा खेती गर्न सकिने विज्ञहरूको भनाइ छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार