काठमाडौँ / थापाथली क्षेत्रमा मेलम्चीको पानीको पाइप फुटेको छ । काठमाडौँ उपत्यका खानेपानी वितरण केन्द्रका अनुसार मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न हुनुका साथै सडक अवरुद्ध भएको हो।
पाइप फुटेको स्थानमा पानी वितरसमेत रोकिएको केन्द्रले जनाएको छ । यद्यपि, पाइप फुट्नुको कारण हालसम्म जानकारीमा आइसकेको छैन ।
पाइप फुटेपछि सडकपेटीमा पनि क्षति पुग्नुका साथै वरपरका पसलहरूमा पानीको भेल पसेको छ । सो क्षेत्रमा रहेको रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरुमा पानीको भेल पसेर जलमग्न भएको छ ।
यसअघि माइतीघर–बानेश्वर सडक खण्डको बबरमहल क्षेत्रमा पनि मुख्य पाइप फुटेको थियो। विद्युत् प्राधिकरणले तार भूमिगत गर्न प्रयोग गरेको प्वाल खन्ने उपकरणले क्षति पुर्याउँदा पाइप फुटेको थियो।